काठमाडौं – प्रशान्ती एकेडेमीले दोस्रो अभिभावक सम्मेलन भव्य रूपमा सम्पन्न गरेको छ ।

विद्यालयले चार्टर एकाउन्टेन्ट रोजन नेपाल, केदार कार्की तथा अमर थापालाई विशेष सम्मान प्रदान गरेको थियो। उनीहरूलाई सम्मान गर्दै विद्यालयले पूर्वविद्यार्थीहरूको सफलता नै विद्यालयको गर्वको विषय हुने उल्लेख गरेको थियो ।

प्रशान्ति शिक्षा सदन काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा, मुस्कान चोकमा रहेको छ ।
प्रशान्ती एकेडेमीले अन्य विद्यालयहरूमा गरिने अभिभावक दिवस तथा वार्षिकोत्सवभन्दा नवीन शैलीमा अभिभावक सम्मेलन आयोजना गर्ने परम्परा बसालेको छ । प्रत्येक अभिभावकले इन्ट्री कार्डसहित व्यवस्थित रूपमा प्रवेश गर्ने तथा सम्मेलनको क्रममा अनिवार्य रूपमा प्रशिक्षण लिने व्यवस्था गरिएको थियो।

यस अवसरमा ट्रेनर इश्वर श्रेष्ठले अभिभावकहरूलाई करिब दुई घण्टासम्म प्रभावकारी प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणले अभिभावकहरूलाई बालबालिकाको शैक्षिक उन्नति, चरित्र निर्माण र जीवनोपयोगी सीप विकासमा अभिभावकहरूको भूमिकाबारे मार्गदर्शन प्रदान गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी , विशेष अतिथि वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, विभिन्न विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरू, अभिभावक, शिक्षक, टोल सुधार समितिका अध्यक्षहरू, कपन महिला सञ्जालका पदाधिकारीहरू, पूर्वविद्यार्थी, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरू सहभागी भएका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका कार्यकारी अध्यक्ष मुरारी भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रिन्सिपल समिर बास्तोलाले गरेका थिए । “ क्वालिटी एजुकेशन, आवर कमिट्मेन्ट ” भन्ने नारालाई आत्मसात गर्दे अघि बढिरहेको प्रशान्ति शिक्षा सदनका कार्यकारी अध्यक्ष मुरारी भण्डारीले बताए । कार्यक्रमको स्वागत मन्तव्य डा. राजेन्द्र पौडेलले गरेका थिए, जसमा उनले अभिभावकहरूको उपस्थितिलाई धन्यवाद दिँदै यस्तो सम्मेलनले अभिभावक–विद्यालय सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गरे।

बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरुमध्ये गुणस्तरीय शिक्षा र उत्कृष्टका लागि सफल मानिएको प्रशान्ति एकेडेमीले अब्बल शैक्षिक गुणस्तरीयता कायम गर्दै अघि बढ्ने दाबी गरेको छ ।























