काठमाडौं – ‘छोरीको लागि छोरी’ संस्था परामर्श विभागले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शनिबार ललितपुरस्थित फन्को फूड क्याफेमा आयोजित उक्त कार्यक्रममा महिला अधिकारका विविध पक्षमा छलफल भएको थियो।

‘सबै महिला र बालिकाका लागि: अधिकार, समानता, र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा महिलामाथि हुने हिंसाका विभिन्न आयामबारे विस्तृत विश्लेषण गरिएको थियो। छहारी संस्था नेपाल सह-आयोजक रहेको सो कार्यक्रममा प्राध्यापक डा. मीरा प्रधान प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । उक्त कार्यक्रममा कानूनविद्, समाजसेवी तथा महिला अधिकारकर्मीहरू अतिथि वक्ताका रूपमा उपस्थित थिए।
अन्तरक्रियाका क्रममा सहभागीहरूले नेपाली समाजमा महिलाले भोगिरहेका हिंसाका स्वरूप, कानूनी अधिकार, तथा सशक्तिकरणका उपायहरूबारे आफ्ना विचार प्रस्तुत गरे। महिलामाथि हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक हिंसाका घटनाहरू न्यून गर्न कानूनी संरचनाको प्रभावकारी कार्यान्वयन, सचेतनाको अभिवृद्धि तथा समाजमा सकारात्मक परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरियो। वक्ताहरूले महिलामाथिको हिंसा उन्मूलन गर्न सार्वजनिक संस्थाहरू, सरकार तथा नागरिक समाजको एकताबद्ध प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै, समाजमा महिला-पुरुषबीचको समानताको प्रत्याभूति गर्न नीतिगत सुधार आवश्यक रहेकोमा विशेष जोड दिए।

प्रमुख अतिथि प्राध्यापक डा. मीरा प्रधानले महिलाहरूको चेतनास्तर र शैक्षिक पहुँचबारे चर्चा गर्दै शिक्षा नै चेतना तथा तेस्रो आँखा भएकाले महिलाले शिक्षित हुनैपर्ने आवश्यकतामा जोड दिइन् । उनले शिक्षाको अभावले महिलाहरू आफ्ना अधिकारबारे जानकारी नपाउने तथा समाजमा विभिन्न विभेद सहन बाध्य हुने उल्लेख गर्दै, महिला सशक्तिकरणका लागि शिक्षा नै महत्वपूर्ण माध्यम हो भन्ने धारणा व्यक्त गरिन ।

त्यसैगरी, छोरीको लागि छोरी संस्थाकी अध्यक्ष बसुधा बस्नेत पाण्डेले पश्चिम नेपालमा व्यापक रहेको छाउपडी प्रथाका कारण महिलाले ज्यान गुमाउनु परेको तथा गोठमा बस्दा सर्पदंशको शिकार हुनुपर्ने घटनाहरूले आफूलाई स्तब्ध बनाएको बताइन्। यिनै घटनाबाट प्रेरित भएर महिलाका पक्षमा आवाज उठाउने उद्देश्यले संस्था स्थापना गरेको उल्लेख गर्दै, सामाजिक कुरिती तथा कुसंस्कार हटाउने अभियानमा महिलाहरू आफैं जागरूक हुनुपर्ने आवश्यकता औंल्याइन ।

यस्तै उनले संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै लैङ्गिक समानता तथा महिला सशक्तिकरणको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएकि छन् ।






















