काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन्। शुक्रबार ललितपुरमा आयोजित प्रतियोगितामा उनी प्रथम भएका हुन् ।

कालिकोट जिल्लाको शुभकालिका–६, हाउडिमा रहेको चन्द्र सूर्य माध्यमिक विद्यालय, कक्षा १० मा अध्ययनरत आचार्यले “न्यायको खोजी” शीर्षकको कविता प्रस्तुत गरेका थिए।
देशभरका सातवटै प्रदेशका प्रथम स्थान हासिल गरेका प्रतियोगीबीच भएको अन्तिम प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रस्तुति दिँदै शीर्ष स्थान हासिल गरे। प्रतियोगितामा मधेश प्रदेशकि प्रीती अधिकारी दोस्रो र लुम्बिनीकि अञ्जली लामा तेस्रो भएका थिए।

कवितामा महिला हिंसा, अधिकार र वातावरण संरक्षण जस्ता महत्वपूर्ण सामाजिक मुद्दाहरू उठाइएका थिए। निर्णायक मण्डलका अनुसार आचार्यको कविता समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालको मात्र नभई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो, जसले उनलाई पहिलो स्थान दिलायो।
पुरस्कार ग्रहण गर्दै किशोर आचार्यले भने, “न्याय केवल अदालतमा खोज्ने कुरा होइन, समाजमा समानता, सम्मान र सचेतनाको स्तर बढाउन सके न्याय स्थापना गर्न सकिन्छ।”
यस्तै युएन डिपि नेपालका प्रतिनिधिहरूले प्रतियोगिता सफल भएको बताउदै आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई अझै सशक्त पार्ने विश्वास दिलाएका छन् ।























