साझेदारी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारले मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् ।

कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार संशोधन गर्दै जाने पनि जानकारी दिए ।

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको उनले बताए । संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर जानुपर्ने बताए । उनले विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवले भरिपूर्ण नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे ।