साझेदारी गर्नुहोस्

स्वर्गद्धारी गुठी पिडितहरुले नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

सरकारको नेतृत्व गरिरहेको दल एमालेको ललितपुर च्यासलस्थित मुख्यालयमा धर्ना दिएका हुन् ।


स्वर्गद्धारी गुठी पीडित मोही किसान संघर्ष समिति, दाङ, देउखुरीले स्वर्गद्धारी आश्रमको मोही किसानको मोहियानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानुन निर्माणका लागि दबाबमूलक अनिश्चितकालिन धर्ना लगायतका कार्यक्रम गर्दे आएको छ ।

सहभागी एक ४५ वर्षीय पुरुषले भने,’प्रधानमन्त्रीको पार्टीलाई सुनाउन धर्ना दिन आएको, पुलिस लगाएर हामीलाई रोके ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकारमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी छन्, उनी एमालेका केन्द्रीय सदस्य हुन् ।


धर्नामा सहभागीहरुले स्वर्गद्धारी गुठी किसानसँगको सम्झौता कार्यान्वयन गर, गुठी ऐन जारी गर, स्वर्गद्धारी गुठी किसानको आन्दोलन जारी छ लगायतका प्लेकार्डहरु बोकेका थिए ।

स्वर्गद्धारी गुठी किसानको आन्दोलनलाई निरन्तर समर्थन र ऐक्यबद्दता व्यक्त गर्दै आएका दाङ-१ का संघीय सांसद एवं नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले वर्तमान ओली नेतृत्वको सरकारले स्वर्गद्धारी गुठी किसानको माग सम्बोधन गर्न सरकारले गम्भीरता नदेखाएको आरोप लगाए ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव चौधरीले प्रश्न गरे, ‘प्रधानमन्त्री एमालेको, भूमि व्यवस्था मन्त्री एमालेकै छन् । अनि दुई तिहाईको दम्भ देखाउने सरकारले यी पीडित मोही किसानको माग किन समाधान नगरेको ? ‘

स्वर्गद्धारी गुठी पीडित मोही किसान संघर्ष समिति, दाङ, देउखुरीले आफुहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।