साझेदारी गर्नुहोस्

प्रेम सम्बन्धबारे सुरू भएको उत्पन्न विवादले उग्र रुप लिँदा भएको झडपका क्रममा नवलपरासीमा २० जना घाइते भएका छन् ।

झडपका क्रममा एकजना गम्भीर घाइते भएका छन् । त्यसक्रममा आक्रोशित स्थानीयबासी प्रहरीको गाडी जलाइदिएका छन् । आगजनीबाट एउटा कवाडी सामानको गोदाम पनि जलेको छ ।

पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षका सदस्य भिडेका हुन् । झडपका क्रममा केटा पक्षले केटी पक्षका आफन्तको कवाडी गोदाममा आगो लगाइदिएका छन् ।

आगोले केटी पक्षका आफन्तको घर पनि जलेको छ। केटा र केटी पक्ष दुवैको घर एकै वडाको छोट्की कुश्मा गाउँमा अवस्थित छ ।

केटी पक्षका हजुरबुवा नाताका मोहरम पवरिया(मुसलमान) को घर बेलासपुरमा रहेको छ । केटा पक्षको समूहले मोहरमको बेलासपुरस्थित कवाडी गोदाम जलाइदिएको छ।

प्रेमसम्बन्धमा रहेका केटा र केटीको उमेर २० वर्ष छ । मबार साँझ केटाका भाइ बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितले कुटपिट गरेपछि विवाद चर्किएको थियो ।