उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र त्याग बिर्सन नहुने बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको बताए। कांग्रेस जिम्मेवार पार्टी भएको भन्दै यसका नेता कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा पनि सिंहको जोड थियो ।
‘कांग्रेस भनेर चिनिएकाहरूले जनताकोबिचमा असन्तुष्टि पोखेपछि जनतामा कहाँबाट भरोसा विकसित हुन्छ ?,’ उपप्रधानमन्त्री सिंहले भने,‘ हाम्रा संस्थापक नेताहरुको प्रयास, विभिन्न समयमा केन्द्रीय स्तरका नेता र कार्यकर्ताको त्यागतपस्याकै कारण जनताले अधिकार प्राप्त गरेका छन ।
त्यसका लागि ठुलो संघर्ष र त्याग भएको छ । लामो समयको संघर्ष र हजारौंको त्यागबाट अधिकार जनताकोमा आइपुगेको कुरा बिर्सनु भएन ।’
उनले प्राप्त अधिकारका विषयमा गैर जिम्मेवार अभिव्यक्ति दियौँ भने प्राप्त अधिकार गुम्न सक्ने भन्दै त्यस्तो अवस्था आए देश नयाँ अस्थिरतामा जान्छ भन्ने कुरा ख्याल गर्न पनि आग्रह गरे।