प्रकृति लम्सालको रहस्यमय मृत्यु पछि भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बढेको तनावका कारण १सय ११ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ ।
दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए ।त्यसक्रममा सिंहले सबै नेपाली विद्यार्थीका अभिभावकलाई त्यसबारे जानकारी दिँदै इमेल लेख्ने तयारी गरिएको जानकारी दिएको नेपाली दुताबासले जानकारी दिएको छ ।
सोमबार र मंगलबारको घटनापछि कलेजमा रहेका १ हजार २ सय विद्यार्थीमध्ये ६० जना मात्र ओडिसामा बाँकी रहेका थिए । तीमध्ये थप १ सय १२ जना होस्टलमा फर्किइसकेका छन् ।युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।






















