साझेदारी गर्नुहोस्

बुधबार हुने कागेश्वरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर एक स्थित कागेश्वरी धाममा भोलि अर्थात  फागुन ७ गतेका दिन हुन लागेको एघारौं कागेश्वरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हो ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रि प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा रहने उक्त महोत्सव विहान १०:०० बजे देखि सुरु हुनेछ ।

कार्यक्रम विभिन्न राजनैतिक दलका नेता, जनप्रतिनिधि , कर्मचारी, कलाकार तथा स्थानीयहरुको उपस्थिति रहने बताइएको छ ।

महोत्सवका परिकल्पनाकार तथा  पूर्वमन्त्री एवम्  संविधान सभा सदस्य रामेश्वर फुयालका अनुसार कार्यक्रम भव्यरुपमा सम्पन्न हुने आसा गरिएको छ । भोलि हुन लागेको उक्त महोत्सवबारे राष्ट्र प्रेससँगको कुराकानीमा नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य समेत रहेका नेता फुयालले भनेका छन्, “२००७ साल लगायत देशमा विभिन्न समयमा भएका क्रान्तिलाई सम्झना गर्दै महोत्सवको आयोजना गरिएको हो । यसले स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक रुपान्तरण, सम्पदाको संरक्षण, र पर्यटन विकासमा सहयोग पुर्याउनेछ।”

फुयालका अनुसार काठमाडौं उपत्यकामा हरेक वर्ष ९ प्रमुख स्थानमा यस्ता पर्यटन महोत्सवहरू आयोजना गरिन्छन्। तीमध्ये मणिचुड, तारेभिर, इन्द्रदह, र शिवपुरी बागद्वार सुन्दरीजल महोत्सव मुख्य छन्। यस्ता महोत्सवहरूले उपत्यकाका पछाडि परेका क्षेत्रहरूलाई समृद्ध बनाउँदै स्थानीय उत्पादनहरूको बजार विस्तारमा सहयोग पुर्याएका छन्।

उनले थपे, “स्थानीय सोच, स्रोत र नेतृत्वको परिचालनबाट महोत्सवहरू सफल बनाइएका छन्। यसले समाजमा आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणको मार्ग खोल्दै समृद्धि र सुखको प्राप्तिका लागि सार्थक प्रयास गरेको छ।”

यस महोत्सवले कागेश्वरी मनोहरा क्षेत्रको सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्त्वलाई उजागर गर्दै स्थानीय पर्यटनको प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास लिइएको छ।

महोत्सवमा स्थानीय समुदायका उत्पादनहरूको बजार विस्तारका लागि प्रर्दशनी हुनेछ । यसका साथै
विविध सांस्कृतिक प्रस्तुति र परम्परागत नृत्यले महोत्सवलाई रोचक बनाउनेछ । जहाँ कागेश्वरी धाम र यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्वबारे विशेष कार्यक्रमहरू हुनेछन्।

फुयालका अनुसार नयाँ वर्ष २०८२ मा मणिचुड, बज्रयोगिनी पर्यटन महोत्सव र शिवपुरी बागद्वार सुन्दरीजल पर्यटन महोत्सव आयोजना गरिनेछ। यस्ता महोत्सवहरूले उपत्यकाको आर्थिक र सांस्कृतिक समृद्धिमा योगदान गर्दै पर्यटनको नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यस महोत्सवमा सहभागी भई स्थानीय समुदाय, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान गर्न सबैलाई निमन्त्रणा गरिएको छ।