ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । अरुलाई पक्राउ गरी सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै चर्को विरोध भएपछि प्रहरीले बिहीबार नयाँँ बानेश्वरबाट पक्राउ गरेको हो।
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।
आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए । प्रहरीले जोशीलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको थियो ।
आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । घटनामा संलग्न अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपाल बहादुर शाही, क्याम्पस कमिटी सदस्य नविन ऐर र शौजन्य शाही फरार छन् ।






















