चोरीको मोबाइल कसले लिने भन्ने विषयमा विवाद हुँदा एक युवकको हत्या भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा आइतबार राति मोबाइलको विषयलाई लिएर दुई समूहबीच भएको झडपमा भएको थियो । सोही झडपमा परि काभ्रेको धुलिखेलका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो ।
उनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरि जिल्ला प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखाको जिरीका २२ वर्षीय युनिक लामा भनिने नुर्वु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र २० वर्षीय विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) अपिलराज बोहोराका अनुसार सोही घटनाका अर्का एक जना भने फरार छन् । फरार रहेका व्यक्तिको ट्रयाकिङ भइसकेको प्रहरीले जनाएको छ ।
‘एउटा समूहले मोबाइल चोर्छ कुनै व्यक्तिको । मोबाइल चोरेको अर्को पक्षले देख्छ’ घटनाबारे जानकारी गराउँदै एसपी बोहोराले भने, ‘त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको छ ।’
झडपपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल (केएमसी) लगेको थियो । त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए ।






















