साझेदारी गर्नुहोस्

नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली दुनियाँका सक्षम नेताहरूको सूचीमा पर्ने दाबी गरेका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर दुर्गादत्त माविको हिरक महोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले ओली जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको लिडर भएको दाबी गरे । ओलीको क्षमताकै कारण सरकार परिणाम दिने गरी ढुक्कसँग चल्ने उनले जिकिर गरे ।

‘प्रधानमन्त्री केपी शर्मा ओली उत्कृष्ट राजनेता हो, उहाँ दुनियाँका सक्षम नेताहरूमध्येमा पर्नुहुन्छ,’ पौडेलले भने, ‘ओली जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको टेस्टेड लिडर हुनुहुन्छ, यस्तो नेताको नेतृत्वमा बनेको सरकारले परिणाम दिनेगरी ढुक्कसँग चल्छ ।’

देशमा राजनीतिक स्थायित्व दिन नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार बनेको तर्क उनले गरे । साथै, उनले विकास र सुशासनमा केन्द्रित रहेर अहिलेको सरकारले काम गरिरहेको पनि बताए ।