साझेदारी गर्नुहोस्

यमित प्रसारण भइरहेको हास्य टेलिशृंखला ‘सक्किगो नि’ दर्शकले रुचाइरहेको शृंखलामध्येमा पर्छ । उक्त टेलिशृंखलाका ‘पाँडे’, ‘जिग्री ब्रो’ ‘खुपीका बाउ’ ‘कक्रोज’ ‘बले’ लगायत हरेक पात्रका नाम दर्शकलाई कण्ठस्थ छ । अब यही टेलिशृंखलाका कलाकार छिट्टै ठूलो पर्दामा देखा पर्दै छन् । ‘भद्रकोल’ हुँदै हाल ‘सक्किगो नि’ मा जमिरहेको जेपीटी क्रिएसनले अब फिल्म ‘लाज शरणम्’ ल्याउँदै छ ।

फिल्मलाई ‘सक्किगो नि’ कै निर्देशक तथा कलाकार कुमार कट्टेलले निर्देशन गर्दै छन् । अहिलेसम्म टेलिशृंखलामा दर्शक हँसाइरहेको यो टिमले अब फिल्ममा पदार्पण गरेको हो । ‘लाज शरणम्’ रिलिजलगत्तै यो टिम नयाँ फिल्मका लागि फ्लोरमा जाने तयारी पनि छ ।

‘सक्किगो नि’ को ‘काकु’ चरित्रबाटै चर्चामा आएका अर्का चर्चित कलाकार दीपक आचार्यले पनि एक साताअघि नयाँ फिल्मको घोषणा गरे । उनको निर्देशनमा बन्ने फिल्म ‘परान’ लाई व्यावसायिक घराना गोल्छा समूहले लगानी गर्दै छ । दीपक ‘मेरी बास्सै’, ‘भद्रगोल’ हुँदै ‘सक्किगो नि’ मा अभिनय गरिरहेका कलाकार हुन् । ‘परान’ सँगै ठूलो पर्दामा पनि अब सक्रियता बढाउने उनको योजना छ ।

टेलिशृंखलामा जमिरहेका कलाकार फिचर फिल्ममा आउनु नौलो हैन । बरु, एक दशकयता टेलिशृंखलामा जमिरहेका कलाकारहरूको वर्चस्व फिल्ममा देखिन थालेको छ । एक समय टेलिशृंखलामा सक्रिय दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायत थुप्रै कलाकारलाई यतिबेला फिल्ममा भ्याइनभ्याइ छ ।

कुनै बेला टेलिशृंखला निर्माण गरिरहेकाहरू फिल्ममा आउनुलाई फिल्म क्षेत्रकै व्यक्तिले हास्यास्पद रूपमा लिन्थे । तर २०७० सालमा प्रदर्शनमा आएको फिल्म ‘छ एकान छ’ ले धेरैको भ्रम तोडिदियो । फिल्मले व्यावसायिक सफलता हासिल गरेसँगै नयाँ लहर पनि देखापर्‍यो । १२ वर्षसम्म लगातार प्रसारण भएको दीपक–दीपाको ‘तितो सत्य’ ६ सय भागपछि बन्द भइसकेको थियो ।