साझेदारी गर्नुहोस्

ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कांग्रेसका सांसदहरूले ‘बहिष्कार’ गरेका छन् । समितिमा ८ जना सदस्य रहेको कांग्रेसका सांसद अनुपस्थित भएपछि स्थगित गरिएको छ ।

बुधबार साढे ११ बजे बोलाइएको बैठकमा कांग्रेसका दुईजना सांसदले सुरुमै हाजिर लगाएर बाहिरिएका थिए । एकजना सांसदले पूर्वजानकारी गराएर नआउने कुरा सभापतिलाई भनेका थिए भने बाँकी सांसद भने आउने भनेर अनुपस्थित रहेको पाइएको छ ।

समितिका सभापति दीपकबहादुर सिंहले कांग्रेसका एकजना सांसदले मात्रै बैठकमा आउन नसक्ने जानकारी गरेको जानकारी दिए । अन्य सांसदहरूले बैठकमा उपस्थित हुने भनेपछि नै उक्त बैठक बोलाइएको थियो । ‘आज १४ जनाले पुग्नुपर्ने कोरम, बैठकमा १२ जना माननीय मात्रै उपस्थित भए । २ जना नपुगेकाले एक घण्टा कुरेर बैठक स्थगित गर्नुपर्‍यो,’ कोरम नपुग्दा बैठक स्थगित भएपछि सभापति सिंहले भने, ‘जिल्लामा जानुपर्ने भएको भनेर दुईदिन पहिला कांग्रेसका शंकर भण्डारीले मात्र बैठक सारिदिनुपर्‍यो भन्नुभयो । बैठक तोकिसकेकाले सार्न सकिएन ।’

पूर्वाधार विकास समितिमा सबैभन्दा बढी सांसद कांग्रेसका छन् । कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा दुईजना मात्रै उपस्थित भएका थिए । कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भएकामा उनीहरू पनि बैठकमा ऊर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ तथा सरकारी अधिकारीहरू प्रवेश गरेलगत्तै बाहिरिएका थिए ।

सांसद भण्डारी सभापतिलाई जानकारी गराएर अनुपस्थित भए भने सभापतिलाई जानकारी नै नगराई अनुपस्थित हुने कांग्रेस सांसदमा अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की र सीता गुरुङ रहेका छन् ।

कांग्रेसका सांसदहरू नै बैठकमा अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ । ऊर्जामन्त्री खड्काविरुद्ध परेका उजुरीमाथि छानबिन गर्नका लागि पूर्वाधार समितिको अर्को बैठक माघ २४ गते बिहान साढे ८ बजे बोलाइएको छ । सभापति सिंहले भने, ‘सबैजनासँग सल्लाह गरेर २४ गते बैठक बोलाइको छ ।’