साझेदारी गर्नुहोस्

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङको पाथीभरमा बन्न लागेको केबलकारका कारण उत्पन्न विवाद र तनावलाई वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् ।

आन्दोलनमा उत्रिएएको ‘नो केबलकार समूह’ र प्रहरीबीच यही माघ १२ गते भएको झडपमा २४ जनाभन्दा बढी घाइते भएको पृष्ठभूमिमा बुधबार पत्रकार सम्मेलन गर्दै भट्टराईले यस्तो आग्रह गरेका हुन् ।

ताप्लेजुङबाट प्रतिनिधिसभाका सदसदस्यसमेत रहेका भट्टराईले निर्माणाधीन पाथीभरा देवी (मुकुम्लुङ) केबलकारबारे १९ बुँदे धारणा सार्वजनिक गर्दै तनाव र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि हुन नहुने पनि उल्लेख गरेका छन् ।

‘भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस् । बृद्ध–बृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई सहज पहुँच लान सकियोस् भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेमा दुईमत छैन’, उनले भनेका छन्, ‘केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाखसम्म तीर्थालु र पर्यटकहरू पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुङबासीको रोजगारी,आर्थिकोपार्जन,स्थानीय उत्पादनको बजारीकरण, व्यवसायिकता बढ्ने र सम्रगमा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।’