साझेदारी गर्नुहोस्

लमजुङको दोर्दी गाउँपालिका ५, पाचोक क्षेत्रस्थित कैंची जंगलको कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । दुर्घटनामा परेर तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका अन्दाजी २७ वर्षिय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैंची गाउँको कैंची डाँडाबाट काठदाउरा लिनको लागि चाँदी डाँडा जाँदै गरेको ग१त ५२७६ नम्बरको ट्याक्टर मंगलबार बिहान ८ बजेतिर दुर्घटना भएको अनुमान गरिएको छ ।

एकजना स्थानीयले चालक नभएको बेला काठ व्यापारी आफैंले चलाएर लगेको ट्याक्टर घुम्तीमा दुर्घटना भएको बताए । जिल्ला प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको बताए ।

उनले घटनाको अनुसन्धान सुरु भएको र अनुसन्धान पछिमात्रै एकीन विवरण प्राप्त हुने बताए । उनका अनुसार शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।