राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आइतबार पनि जारी छ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणालगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महामन्त्री राणाले पनि ६ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महामन्त्री राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
पार्टी विधान तथा राप्रपा महाधिवेशनले निर्दिष्ट गरेका निर्णयविपरीत अध्यक्ष लिङ्देन चल्ने गरेको महामन्त्री राणाको प्रतिवेदनमा उल्लेख छ।
साथै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टी सहभागी गराएको र त्यसले जनतामा राप्रपालाई अलोकप्रिय बनाउने काम गरेको आरोप महामन्त्री राणाको प्रतिवेदनमा समावेश छ।
यो प्रतिवेदनका कुरामाथि केन्द्रीय सदस्य दीपक सिंहले कटाक्ष गरेका छन्। अध्यक्ष लिङ्देनको बचाउ गर्दै उनले महामन्त्री राणाले पेस गरेको राजनीतिक प्रतिवेदनलाई काम नलाग्ने (थाङ्ने) को संज्ञा दिए।
सिंहले महामन्त्री राणाको प्रतिवेदन पार्टीको प्राथमिकताभन्दा बाहिर रहेको र पार्टीसँग मेल नखाने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
‘अहिले जनतालाई गाउँ-गाउँबाट जागरूक बनाउनुपर्ने, व्यवस्थाका विकृतिहरू विरुद्ध सडकमा कसरी उतार्ने भन्ने रणनीति बनाउने र संसदमा पार्टीको बलियो उपस्थिति कसरी देखाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने हो,’ सिंहले केन्द्रीय समितिमा बोल्दै भने, ‘तर यस्ता अनावश्यक थाङ्ने विषयले तीन दिनसम्म बैठकलाई अल्झाइराख्नुको अर्थ के हो? यस्ता प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ।’
उनले महामन्त्री राणाले राखेका विचारमा पनि आपत्ति जनाएका छन्। ‘पार्टीलाई सुदृढ बनाउने जिम्मेवारी सबैको हो तर यस्तो विचारले पार्टीलाई कुन दिशामा लैजाने प्रयास भइरहेको हो?,’ उनले प्रश्न गरे।
















