काठमाडौं, चाबहिल – चाबहिलस्थित मनास्लु कलेजले आफ्नो प्रतिष्ठित प्रतियोगिता “मिस्टर एण्ड मिस मनास्लु २०८१” को अडिसन राउन्ड भव्य रूपमा सम्पन्न गरेको छ।
प्रतियोगितामा २२ जना विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए। अडिसन राउन्डमा प्रतिस्पर्धीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, र प्रस्तुतीकरण कौशल प्रदर्शन गरेका थिए। उनीहरूको प्रस्तुति उत्कृष्ट रहेको भन्दै निर्णायकहरूले प्रशंसा गरेका छन्। निर्णायकहरूको टोलीमा कार्यक्रम व्यवस्थापन संघका महासचिव तथा इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेल, संचारकर्मी अरुणा श्रेष्ठ, र चर्चित कलाकार पवित्रा साकी (मिस पबि) रहेका थिए।
निर्णायक सोनितराज ढुंगेलले प्रतिस्पर्धीहरूको आत्मविश्वास र प्रस्तुतीकरण कौशलको प्रशंसा गर्दै आगामी चरणहरूमा उनीहरूले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै मिस पबिले सहभागीहरूको कलात्मकता र क्षमताले आफूलाई प्रभावित पारेको बताउँदै यस्तो प्रतियोगिताले उनीहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेकि छन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नृत्य, गायन, वक्तृत्वकला, र संवाद कौशल प्रदर्शन गरेका थिए । उनीहरूको प्रस्तुतिले आगामी चरणहरूमा अझ राम्रो प्रदर्शन हुने सम्भावना देखिएको छ।
मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामाले प्रतियोगितालाई विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उत्कृष्ट मञ्चका रूपमा चित्रण गरे। उनले यसले उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, र सांस्कृतिक गतिविधिमा सक्रियता बढाउने विश्वास व्यक्त गरे।
प्रतियोगिताको फाइनल राउन्ड आगामी फाल्गुन ५ गते आयोजना हुनेछ । जसमा प्रतिस्पर्धीहरूले आफ्नो क्षमताको उत्कृष्ट प्रस्तुति दिनुपर्नेछ। जसका लागि कोरियोग्राफर सेन्जल पौडेलले २० दिनको तालिम दिनेछिन् ।
“मिस्टर एण्ड मिस मनास्लु २०८१” को शीर्षक विजेताले नगद पुरस्कार, गिफ्ट हेम्पर लगायत आकर्षक पुरस्कार, सम्मान, र एक वर्षका लागि मनाश्लु कलेजको ब्राण्ड एम्बेस्डर हुने अवसर प्राप्त गर्नेछन्।
यो प्रतियोगिताले विद्यार्थीहरूबीच ठूलो उत्साह सिर्जना गरेको छ। प्रतिस्पर्धीहरूले यो अवसरलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न र व्यक्तित्व निखार्न महत्त्वपूर्ण कदमका रूपमा लिईएको प्रीन्सिपल राजन श्रेष्ठले बताएका छन् ।