नाबालिकालाई करणीको प्रयास गरेको भन्दै हेटौँडाबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथि करणीको प्रयास गरेको भन्दै ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पीडित पक्षको जाहेरीका आधारमा हेटौँडा–९ का स्थानीय रहेका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । ती पुरुषविरुद्ध पीडितका परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएको उनले बताए ।
जाहेरी अनुसार हेटौँडा ९ प्रगति टोलका ५५ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको परिवारको दाबी छ । उनले घटनाको बारेमा अनुसन्धान थालिसकिएको बताए ।
व्यक्तिगत गोपनीयता र अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले जाहेरी परेको व्यक्तिको बारेमा तत्काल गोपनीयता कायम गरिएको उनको भनाई छ ।