अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको जन्मको आधारमा दिने नागरिकता स्थगनको निर्णयलाई सङ्घीय न्यायाधीशले तत्कालका लागि रोक्ने निर्णय गरेका छन्। बिहीबार भएको सुनुवाइपछि न्यायाधीश जोन कोगेनाउरले ट्रम्पको निर्णयलाई स्पष्ट असंवैधानिक भनेका छन्।
अमेरिकी भूमिमा जन्मने बित्तिकै नागरिकता दिने चलन सुरुवाती दिनमा संविधानमा थिएन। दशकौँ पछि यो थपिएको हो।
सन् १८६८ मा गृह युद्धको अन्त्यपछि भएको १४ औँ संशोधनले यसलाई स्वीकार गरेको हो। १३ औँ संशोधनले दास प्रथाको अन्त्य गरेको हो। यसपछि दासहरूको सन्तानको नागरिक अधिकारको बारेमा बहस सुरु भएपछि १४ औँ संशोधनमा यसमा समावेश गरिएको थियो। यस संशोधनमा यस अघि सन् १८९८ मा अन्तिम पटक बहस भएको थियो। त्यसको १२७ वर्षसम्म यो प्रावधानमा कुनै विवाद र बहस भएको थिएन। सङ्घीय न्यायाधीशको यो निर्णयपछि अहिले ट्रम्पको अर्को निर्णय के हुने भन्ने विषयमा धेरैको चासो रहेको छ।