तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित स्थानीय केशव अधिकारीको घरमा आगलागी हुँदा ५० मुरी धान जलेर नष्ट भएको छ । बुधबार बिहान आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्की घरको पाँचौं तलमा आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आबुखैरेनी, इलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी डुम्रे तनहुँबाट प्रहरी निरीक्षक समेत ३६ जना प्रहरी कर्मचारी र स्थानीयको सहयोगमा करिब ४० मिनेटमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट ५० मुरी धान, पुराना काठपात तथा झ्यालढोका र टिनको छानो जली नष्ट भएको जिल्ला प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । आगालागी कसरी भयो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।