साझेदारी गर्नुहोस्

ललितपुर, पूर्णचण्डी – नेपाल राष्ट्रिय शिक्षक संगठनले १३औं राष्ट्रिय समितिको आठौं पूर्ण बैठक सम्पन्न गरेको छ। संगठनको मुख्यालय पूर्णचण्डी, कुमारीपाटी, ललितपुरमा आयोजित बैठकले संगठनको गौरवशाली विगत, चुनौतीपूर्ण वर्तमान, र भविष्यमा सार्वजनिक शिक्षाको उन्नयनका लागि लगानी वृद्धि गर्ने योजना तय गरेको छ।

बैठकमा राष्ट्रिय शिक्षा ऐनको आवश्यकताका साथै सबै तहमा सशक्त संगठन निर्माणका उपायहरूमा विशेष छलफल भएको थियो। संगठनले २०३६ सालमा स्थापना भएदेखि नेपालको शैक्षिक सुधार र शिक्षकहरूको हकहितका लागि निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

बैठकमा संगठनका केन्द्रिय अध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षता रहेको थियो भने पेशागत महासंघका केन्द्रिय इन्चार्ज, संविधान सभा सदस्य तथा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रामेश्वर फुयाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै, संगठनका पूर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य बाबुराम थापा विशेष अतिथिका रूपमा उपस्थित थिए।

बैठकले शिक्षकहरूको दरबन्दी थप गर्नुपर्ने, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, र सेवा–सुविधामा सुधारका लागि प्राथमिकताका साथ नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। बैठकले शिक्षा विधेयक मार्फत यी मुद्दाहरू समाधान गर्न सरकारलाई दबाब दिनेसमेत निर्णय गरेको छ। संगठनका अनुसार, शिक्षकहरूका सेवा–सुविधामा सुधार गर्न तालिम, पेन्सन, स्वास्थ्य सुविधा, र पारिश्रमिक संरचनामा स्पष्ट व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ ।

बैठकपछि संगठनको प्रतिनिधि टोली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई भेट्न सिंहदरबार पुगेको थियो। भेटमा टोलीले शिक्षकहरूको पेशागत समस्याका साथै सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक पहलहरूबारे मन्त्री भट्टराईलाई जानकारी गराएको थियो। प्रतिनिधिहरूले विशेषगरी शिक्षकहरूको न्यूनतम पारिश्रमिक, सेवा–सुविधा र दरबन्दीको अभावलाई प्राथमिकताका साथ समाधान गर्न जोड दिएका थिए।

मन्त्री भट्टराईले शिक्षकहरूको मागलाई गम्भीरतापूर्वक लिएर समाधानका लागि शिक्षा विधेयकमा आवश्यक व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयं शिक्षा क्षेत्रका समस्या समाधानमा सक्रिय रहेको र यसका लागि तत्काल कदम चालिने आश्वासन दिएकी थिइन्।

बैठकले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न नीति निर्माण र कार्यक्रम कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। संगठनले आगामी कार्ययोजनामा शिक्षामा लगानी वृद्धि गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अठोट व्यक्त गरेको छ। साथै, शिक्षकहरूको पेशागत विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।

संगठनले राष्ट्रव्यापी रुपमा शैक्षिक सुधारका लागि अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। बैठकले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई समेत शिक्षाको गुणस्तर सुधारका लागि साझा जिम्मेवारी लिन आह्वान गरेको छ।