यसै क्रममा बलिउड एक्टर सैफ अली खान आफ्नै निवासमा रहस्यमय रूपमा हतियार प्रहारबाट घाइते हुन पुगेका छन्। उनलाई उनकै निवासमा चक्कु प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सैफ अलि खानमाथि बान्द्रा वेस्टस्थित घरमै बिहीबार राति साँढे दुई बजे चक्कु प्रहार भएको हो। प्रहरीको शुरूआती अनुसन्धानमा आरोपी चोरी गर्ने उद्देश्यले सैफको निवासमा पसेको थियो। सैफको केयर टेकरले भने हमलावरले १ करोड रुपियाँ मागेको बताएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।
प्रहरीले उनको निवासको सीसीटीवी फुटेज पनि संकलन गरेको छ। जसमा आरोपी सैफको विल्डिङबाट भाग्दै गरेको देखिएको छ। यस मामलामा मुम्बई पुलिसले एक शंकास्पद व्यक्तिलाई सोधपुछको लागि हिरासतमा लिएको दाबी गरिएको छ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा सैफ पत्नी तथा अभिनेत्री करिना कपुरलाई सोधपुछ गरेको छ।
इन्डियन एक्सप्रेसका अनुसार करिनाले आफ्नो बयानमा हमलावर अत्यन्तै आक्रामक भएको बताएकी छन्। करिनाले प्रहरीलाई जानकारी गराएअनुसार हमलावरले हिंस्रक रूपमा आक्रमण गरे पनि घटनास्थलमा राखिएका गरगहना छुँदासमेत छोएको थिएन।
उनले आफ्नो परिवार कुनै उपायले त्यहाँबाट निस्केर विल्डिङको १२औं तल्लामा जान सफल भएको थियो। हमलावरले झडपका दौरान सैफलाई कयौं पटक आक्रमण गरेको थियो। यसका बाबजुद सैफले हमलावरबाट आफ्ना बच्चा र परिवारलाई बचाएका थिए। परिवारलाई उनले नै १२औं तल्लामा पठाएका थिए।
घटनाबाट निकै डराएकी करिनाले घटनापछि आफूलाई अभिनेत्री दिदी करिश्मा कपुरले आफ्नो घर लगेको करिनाले बयानमा बताएकी छन्। सिसीटीभीको नयाँ फुटेजमा आरोपीले हुलिया बदलेको देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
घटनापछि सैफलाई उपचारका लागि राति ३ बजेतिर लीलावती अस्पतालमा भर्ना गरिएको थियो।
घटनापछि सैफलाई टेम्पोमा राखेर अस्पताल लगिएको थियो। घटनामा सैफको घाँटी र ढाड नजिक गहिरो चोट लागेको थियो। लीलावती अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. नीरज उत्तमानीले सैफको शरीरमा ६ वटा चोट लागेको जनाएका छन्। त्यसमध्ये दुई चोट गहिरो थियो। एउटा चोट ढाडको हड्डी नजिक थियो। शल्यक्रियापछि सैफल अस्पतालमै आराम गरिरहेका छन्।