गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र बनउँदा सरकारले नागरिकको व्यक्तिगत विवरण दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गृहमन्त्री लेखकले सर्भर र नेटवर्कसहित सबै प्रणालीको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले जनतालाई सहज तथा सरल सेवा दिन, अपराध नियन्त्रण गर्न तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले मुलुकमा सुशासन कायम गर्दै नागरिकलाई सहज र प्रभावकारी सेवा दिनको लागि सरकारले अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार काम गरिरहेको दाबी गर्नुभयो । उहाँले सामाजिक सुरक्षा लगायतका सबै सेवाहरुको समुचित वितरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको निष्कर्षसहित सरकार अघि बढिरहेको बताउनुभयो । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कि नगर्ने भन्ने प्रश्न पेचिलो बन्दै गइरहेको उल्लेख गर्दै उहाँले यसमा आवश्यक बहस गर्न आवश्यक रहेको बताउनुभयो ।