अघिल्लो वर्ष नै घोषणा गरिएको फिल्म ‘महाराजधिराज’ अब भने निर्माण हुने भएको छ । अर्को वर्षको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै माघे संक्रान्तिको दिन पारेर फिल्मको एक पोस्टर सार्वजनिक गरिएको छ, जसमार्फत् मुख्य कलाकार पनि चिनाइएको छ । यो फिल्ममा अभिनेता पल शाहले मुख्य भूमिका निभाउने भएका छन् । पोस्टरमा उनको लुक्सले ‘सरप्राइज’ तुल्याउन सक्छ ।
एआई (आर्टिफिशल इन्टेलिजन्स)को प्रयोग गर्दै तयार पारिएको पोस्टरमा पललाई दुई अलग चरित्रमा देख्न सकिन्छ । एउटामा उनी न्यूड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका छन् । उनी शारीरिक रुपले कमजोर देखिन्छन् । अर्कोमा उनको पात्र शीरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएको छ । दुवैमा उनी गम्भीर भावमा चित्रित छन् ।
सार्वजनिक पोस्टरमा एउटा स्लोगन छ, ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा ।’ यसले अरुमा भन्दा व्यक्ति स्वयंमा समस्या रहेको संकेत गर्छ । राजा होस् वा नागरिक, समस्या हरेक व्यक्तिमा छ भन्ने स्लोगन र पोस्टरले प्रष्ट पार्छ । पलको क्यारेक्टर लुक्सले दर्शकमा फिल्मप्रति उत्सुकता जगाउने निश्चित छ ।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा उनी स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।