साझेदारी गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरका पाँचमध्ये एउटा अध्यादेश रोकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश सिफारिस गरेकोमा राष्ट्रपतिले तीमध्ये चार वटा जारी गरेको राष्ट्रपति कार्यालय, शीतलनिवासले जनाएको छ ।

राष्ट्रपतिले सोमबार जारी गरेका ४ अध्यादेशमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन्र) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेका छन् ।

राष्ट्रपति पौडेलले भूमि सम्बन्धी अध्यादेश अध्ययनका लागि भन्दै रोकेका छन् । सरकारले भूमि सम्बन्धी अध्यादेशमा भएका प्रावधानलाई लिएर छलफल गर्नुपर्ने भन्दै राष्ट्रपतिले तत्कालका लागि रोकेको स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद् बैठकले शुक्रबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको थियो ।