साझेदारी गर्नुहोस्

२२ सदस्यीय मन्त्रिपरिषद्‍मा १२ पुराना हुँदा १० जनाले पहिलो पटक अवसर पाएका हुन् । यसपटक ओली नेतृत्वको सरकारमा एमालेले भन्दा कांग्रेसले धेरै नयाँ मन्त्री पठाएको छ । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चारजना नयाँलाई पठाएको छ ।

वि.सं. २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए ।

यस्तोमा एमाले र कांग्रेसको गठबन्धनलाई पनि महन्थ ठाकुर नेतृत्वको लोसपाले साथ दिएको थियो । त्यही साथको गुन तिर्दै नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले एक मन्त्री पद लोसपालाई दिएका हुन् । लोसपालाई ओलीले गुन तिर्दा अध्यक्ष महन्थ ठाकुरले शरदसिंहलाई नै फेरि मन्त्री बनाएका हुन् । उनी फेरि श्रममन्त्री बनेका हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा डोलप्रसाद अर्याल श्रम मन्त्री थिए। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीसँगै २१ जना मन्त्रीहरुलाई शपथग्रहण गराएका छन् ।