साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि सभापति शेरबहादुर देउवाले बोलाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी पेश गरेका छन् ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । शनिबार या आइतबार ओली नयाँ प्रधानमन्त्री बन्ने भएकाले नयाँ सरकार गठन, पार्टीको तर्फबाट मन्त्री छनोट र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।