भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा चारजनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । गएको २४ घण्टामा राज्यका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले सात जिल्लालाई प्रभावित गरेको छ ।
“विगत २४ घण्टामा चट्याङका कारण सिवानमा दुई र सुपौल र रोहतास जिल्लामा एक–एक जनाको मृत्यु भएको छ,” मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएका छन् ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै उनीहरूलाई आर्थिक राहतको घोषणा गरेका छन् ।मुख्यमन्त्रीले मानिसहरूलाई खराब मौसममा सतर्क रहन र आँधीबेहरीको समयमा घरमै बस्नलगायत विपद् व्यवस्थापन विभागले जारी गरेका सुझावहरू पालना गर्न पनि आग्रह गरेका छन् ।