साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट पाँचौँ पटक विश्वासको मत लिने तयारी गरेका छन् । मुख्य सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले फेरि संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनी संवैधानिक अधिकार प्रयोग गर्दै विश्वासको मत लिने मनस्थितिमा पुगेका हुन् । यद्यपि, उनले संसदबाट विश्वासको मत नपाउने निश्चितजस्तै छ ।

प्रधानमन्त्री प्रचण्डसँग अहिले उनको आफ्नै दल, ३२ सिटको नेकपा माओवादी केन्द्र, २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र १० सिटको नेकपा एकीकृत समाजवादीमात्रै उभिएका छन् । जसअनुसार उनले २७५ सदस्यीय प्रतिनिधिसभाबाट विश्वासको मतको पक्षमा मात्र ६३ मत पाउने देखिएको छ ।