साझेदारी गर्नुहोस्

पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधानअनुसार यहाँ १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप पाएपछि घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकाङ्क पूरा गर्नुपर्ने हुन्छ । जिल्लाका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकाङ्क पूरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।