साझेदारी गर्नुहोस्

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ । आइतवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा अल्पमतमा परेकाले आजै अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएको हो ।

यता प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । काँग्रेससँगको सहमति अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीले राजीनामा नदिइ विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तिब्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।