साझेदारी गर्नुहोस्

स​​माचार टिप्प​णी ​, शौरभ ढुंगेल

तीन वर्ष अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्दे प्रधानमन्त्री बन्न सफल भएका थिए । ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेका देउवाले प्रधानमन्त्री बनेको संख्या पाँच पटक पुर्याए ।

यसपटक नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्न सहमति भइसकेको छ । ओली प्रधानमन्त्री बन्ने समाचारहरु सार्वजनिक भइसक्दा पनि कतिपय राजनीतिक विश्लेषकहरु त्था संविधानविद््हरु अबको प्रधानमन्त्री पनि देउवा नै हुने आँकलन गर्छन् ।

नेपाल राजनीतिका भाग्यमानी पात्र मानिने देउवा फेरि छैठौं पटक प्रधानमन्त्री त बन्दैनन्, यो प्रश्न आफैंमा आधारविहिन भने छैन । यो प्रश्न संवैधानिक तथा राजनीतिक दम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो असार २८ गते विश्वासको मत लिदैंछन् । संविधानको धारा ७६ को २ अनुसार, बनेका प्रचण्डले विश्वासको मत नपाउने निश्चित प्राय छ ।

उता प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को ३ अनुसार सरकार गठन गर्नुपर्ने संविधानविद्हरुको राय छ । यदि त्यसो भयो भने, संसदको सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने धारा हुनाले देउवा स्वत प्रधानमन्त्री हुने भइहाले । रह्यो देउवाले विश्वासको मत पाउने कुरा ओलीको धोकाबाट भर्खरै घाइते भएको माओवादीले विश्वासको मत दिने नै भयो । एकीकृत समाजवादी, लोसपा, जसपा, राप्रपाले देउवालाई विश्वासको मत दिने स्रोतको दाबी छ । यसो गर्दा, देउवालाई विश्वासको मत पनि पुग्छ सँगै यसअघिको चुनावी पाँच दलीय सत्ता गठबन्धन समेत ब्युझिन्छ ।

सम्भव छ देउवा प्रधानमन्त्री बन्न ?

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रचण्डले विश्वासको मत नपाएपछि धारा ७६ को ३ प्रयोग हुने दाबी गरे । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डले राजीनामा नदिएपछि संविधानको धारा ७६ को ३ मा जान सक्ने आशंका व्यक्त गरे ।

उनले भने, ‘अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छ भन्ने हामीले सोच्नुपर्छ। हामी संविधानलाई टेकेर हिँड्नुपर्छ। प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्। उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो।’

कोइरालाको संकेत मात्र होइन, अन्य राजनीतिक दलका प्रभावशाली नेताहरुको समेत यस्तै आशंका छ ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी पनि अबको प्रधानमन्त्री देउवा नै हुने ठोकुवा गर्छन् । उनी भन्छन्, ‘ धारा ७६ को २ को प्रधानमन्त्री प्रचण्ड हुनुभयो, उहाँले विश्वासको मत नपाएपछि धारा ७६ को ३ को प्रयोग हुन्छ, फेरि ओली प्रधानमन्त्री हुने कुरा दिवास्वप्न मात्र हो । ’

चौधरीको बुझाईमा पछिल्लो राजनीतिक घटनाक्रमबाट प्रचण्डले रियलाइज गर्दे चुनावको सत्ता गठबन्धन ब्युझाउन भूमिका खेल्नुपर्दछ ।

७६–५ मा नेपाल नेतृत्वको सरकार, एमाले प्रतिपक्षमै

दक्षिण र उत्तर दूवै छिमेकी खुशी नभएकै कारण एमालले फेरि पनि प्रतिपक्षमै चित्त बुझाउनुपर्ने स्रोतको दाबी छ ।

राजनीतिक विश्लेषकहरु पाँच दलीय गठबन्धन ब्युतिएपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गर्छन । गत फागुनमा प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्नुअघि देउवा नेपाललाई आफूभन्दा अघि प्रधानमन्त्री बनाउन प्रतिबद्ध थिए, अब राजनीतिक घटनाक्रम बदलिएपछि उनी आफूपछि नेपाललाई प्रधानमन्त्री हस्तान्तरण गर्ने स्रोतको दाबी छ ।

एक राजनीतिक विश्लेषक भन्छन््,‘अरुले बोलेर र धेरै बोलेर राजनीतिक सकाए तर देउवाले बोल्दै नबोली राजनीति जित्दैछन् । ’

राजनीति कसरी अघि बढ्ला भन्ने थाहा पाउन असार २८ को संसद बैठकसम्म कुर्नुको विकल्प छैन ।