साझेदारी गर्नुहोस्

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो ।

राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राख्ने प्रशासनको तयारी छ ।

सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ । मङ्गलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने ३ जना यात्रुलाई सकुसल उद्धार गरिएको थियो । सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।