सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा असहमति जनाउँदै एकजना प्रतस्पर्धी सन्तोषनाराणय श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले यस्तो आदेश दिएको हो।
श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइपछि न्यायाधीश मुसलमानको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका विपक्षीविरुद्ध कारण देखाऊ आदेश पनि जारी गरेका छन् । सर्वोच्चको यो आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णय तत्काललाई रोकिएको छ। सर्वोच्चले सरकारको निर्णयलाई सदर गर्ने या नयाँ प्रक्रियामा जाने ढोका खोलिदिन अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउने पनि निर्णय गरेको छ।