माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्ड बैठकले परीक्षाको मिति सार्वजनिक गरेको हो । साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । यस वर्षको एसईईमा नन ग्रेडेड अर्थात् अनुत्तीर्ण सबै दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् ।