आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो।
दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो। अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए।