साझेदारी गर्नुहोस्

पछिल्लो समय कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माई शो’ विवादले घेरिएको छ । कार्यक्रमकी प्रस्तोता ओसिन सिटौला र अन्तर्वार्ता दिन पुगेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको अहिले चर्को आलोचना भइरहेको छ ।

यसैबीच, ‘इट्स माई शो’ का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसविषयमा टिप्पणी व्यक्त गरेका छन्। आफूले ब्रान्ड बनाएको शोलाई अर्को होस्ट आएर पहिलो एपिसोडबाटै विवादित बनाइदिएपछि सुरजले आफूलाई नराम्रो लागेको बताएका छन् । आफ्नो वर्षौंको मेहेनत एकैपटकमा नष्ट भएको उनको गुनासो छ ।

सुरजले आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै लेखेका छन,‘म यतिमात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो बफादारी ध्वस्त भएको छ । टिभी फेसको रूपमा, म एकदमै दु:खी छु र म यो सामग्रीको हिस्सा बन्न चाहन्न ।’ उनले आफू अहिले उक्त शोमा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् । ‘तपाईंहरू सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु । तपाईंहरूको प्रोत्साहन नै मेरो करियरमा एक प्रमुख शक्ति हो,’उनी जोड्छन्,‘कार्यक्रमप्रति सबैको चासो देखेँ । यो भएकोमा मलाई खेद छ । योसँगै म यो प्रष्ट पार्न चाहन्छु कि म अब त्यो कार्यक्रममा संलग्न छैन र यी घटनाहरूमा मेरो कुनै भूमिका पनि छैन । म अब ‘ईट्स माई शो’ सँग कुनै रूपमा आवद्ध छैन, न त होस्टको रूपमा न त प्रमुख कार्यकारी निर्माताकै रूपमा ।’ उनले आफ्नो स्पष्टीकरणसँगै आउने दिनहरूमा आफूलाई दर्शकको साथ रहिरहने विश्वास जनाएका छन् ।