निरन्तरको आएको पानीका कारण खोलाले बस्ती छेडेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पस्न थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए ।
खोलाको बाढी विराटनगर महानगरपालिका–६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको छ ।
वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेर खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।
पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ ।
महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् । वर्षाका कारण पानी जमेपछि सहिद रंगशाला विराटनगरमा जारी एसईई कपको खेल पनि रोकिएको छ ।
विराटनगर महानगरका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रभावितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको न्यौपानेले दिए । विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले बताए ।