राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बुधबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।
बढीमा दुई विषयसम्म नन्ग्रेड ल्याउने विद्यार्थी एक महिनापछि हुने पूरक परीक्षा अर्थात् ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउनेछन् । गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागि भएका थिए । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।