साझेदारी गर्नुहोस्

नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । संयन्त्र बैठकले बैठकले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्व हुनेगरी संयुक्त आयोग बनाउन दुबै देशका प्रतिनिधिले सहमति जनाएका हुन्‌ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा विगतमा भएका निर्णयहरुको मूल्याङ्कन गरिएको थियो । उनीहरुले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।