नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, लगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ ।
नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताए । “दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएका छन्”, उनले भने, “परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्क निर्माण गर्नुपर्ने थियो । अहिलेसम्म दुईवटै ट्याङ्क निर्माणको काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “समग्रमा अहिलेको जुन रफ्तारमा काम भइरहेको छ । सोही कायम रहेको खण्डमा तीन महिनाभित्र सम्पन्न हुनेछ ।”
प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको बताए। “केही सिभिलसँग सम्बन्धित र इलोक्ट्रिोनिक्स र आइटीसँग सम्बन्धित काम बाँकी रहेको छ”, उनले भने, “बाँकी रहेका काम पनि तीव्रगतिमा भइरहेकाले सकेसम्म भदौको दोस्रो साताभित्र सकाउने गरी काम भइरहेको छ ।”