दक्षिण अफ्रिकाले टी–२० विश्वकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सुपर –८ को महत्वपूर्ण खेलमा वेष्टइन्डिजलाई डकवर्थ लेविस नियमका आधारमा ३ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएको हो ।
दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । हारसँगै सह आयोजक वेष्टइण्डिज प्रतियोगिताबाट बाहिरिएको छ । यो समूबाट इंग्ल्याण्ड उपविजेता बनेर सेमिफाईनल प्रवेश गरेको छ । दक्षिण अफ्रिका टी–२० विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि टी२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो । अन्य संस्करणमा भने सेमिफाइनलमा पुग्न सकेको थिएन ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा हुँदा वर्षाका कारण खेल रोकिएको थियो । पुनः खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो । दक्षिण अफ्रिकाको जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए । ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।