साझेदारी गर्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो कुरा नटेर्ने मन्त्रीलाई फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसदीय व्यवस्थामा मन्त्री फेर्न नसक्ने हो भने सिंहदरबार र बालुवाटारबाट डेरा सर्न पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । “समानीकरण अनुदानको विषयमा स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीलाई भेट्दा सय प्रतिशत चाहिन्छ भन्नुभएछ,” उनले भने, “प्रधानमन्त्रीले मेरो त मन छ तर, मन्त्रीले मानेनन् भन्नुभएछ । कति पटक भन्ने यो संसदीय व्यवस्था हो, नटेर्ने भए मन्त्री फेर्ने अनि मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने ।”

उनले समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघ सरकारको संवैधानिक दायित्व भएको बताए ।संघीय सरकारले स्थानीय सरकारलाई वकस दिने जस्तो ढंगबाट व्यवहार गेरेको उनको भनाइ छ । “तर, यो तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो, सरकारले सात प्रतिशत जति अनुदान घटाउने अरे भन्ने सुनियो स्रोत छैन भन्ने कुरा आयो,” उनले थपे, “वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ! स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो अस्वीकार्य र असंवैधानिक छ ।”