साझेदारी गर्नुहोस्

नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । बिहीबार माइतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनमा पार्टीको तर्फबाट ऐक्यबद्धता जनाएका हुन् । त्यस क्रममा उनले पार्टीले क्रसर व्यवसायीहरुको आन्दोलनलाई महत्वपूर्ण आन्दोलनका रुपमा लिएको र पार्टीको आन्दोलनप्रति ऐक्यवद्धता रहेको बताए । उनले सरकार आन्दोलनकारीका माग सम्बोधन गर्नेतिरभन्दा कुर्सी जोगाउने कुरामा बढी केन्द्रित भएको आरोप लगाए ।

“यो आन्दोलनलाई धेरै महत्त्वपूर्ण आन्दोलनका रूपमा लिएको छु । हाम्रो पार्टीले यसरी लिएको छ । त्यसैले हाम्रो सहभागिता रहेको छ । राजस्वको दायरा कसरी बढाउनेभन्दा पनि आफ्नो कुर्सी जोगाउने, कुर्सी बचाउने खेलमा मात्रै सरकार रहेको कुराले धेरैले दुःख पाउनुभएको छ । धेरैका मागहरु अलपत्र भएका छन् । यसलाई चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ,” उनले भने । आन्दोलनका क्रममा आफ्ना धारणा राख्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले क्रसर व्यवसायीहरुका माग तत्काल सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

उनले आफ्ना मागहरु चाँडोभन्दा चाँडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘सरकारले हाम्रा माग सम्बोधन छिटो गर्नुपर्छ। यसले राज्यको नै क्षति हुनेछ । सरकारले चाँडो भन्दा चाँडो माग सम्बोधन गरोस् ।’ नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नविकरण गर्ने कार्यलाई बेवास्था गरेको असार १ गतेदेखि आन्दोलन गर्दै आएको छ ।