मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० अंकमा उक्लिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमबार ३ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार अवधिभर ३१५ वटा धितोपत्रको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर किनबेच भएको छ । १२५ कम्पनीको मूल्य घट्दा ११४ को बढ्यो भने ८ को स्थिर रह्यो ।
कुल १३ उपसमूहमध्ये १० उपसमूहको सेयर मूल्य बढेको छ भने ३ उपसमूहको घटेको छ । बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह भने बढेका छन् । जलविद्युत, म्यूचुल अफण्ड र अन्य समूहको सूचक घटेका हुन् ।