साझेदारी गर्नुहोस्

प्रमुख सत्तारुढ नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विस्तारै संयमता गुमाउँदै गएको जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले मेयर बालेन साले संयमता गुमाउँदै गएको बताए । ‘काठमाडौं महानगरपालिकाका मेयरले संयमता गुमाउँदै हुनुहुन्छ,’ भट्टराईले भने, ‘अघि बढौँ तर, उत्तेजना र उच्छृङ्खलतामार्फत होइन ।’ भट्टराईले आमयुवाहरूले मेयर साहमार्फत आफ्नो भविष्य खोजेको पनि उनले धोका दिएको बताए । ‘गालीगलौज गर्नु, उत्तेजनामा आउनु आवश्यक छैन । आकाशतिर फर्केर थुक्दा त्यो कहाँ झर्छ, थाहा हुनुपर्छ,’ उनले भने । साह मेयरमा निर्वाचित हुनेबित्तिकै अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको उनले स्मरण गरे । तर मेयर साहले तबलाको अर्थ नबुझेको भट्टराईले बताए ।

‘काठमाडौँ महानगरपालिका र सडक विभागबीच मतभेदहरू उत्पन्न भए । त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नु पर्ने? काठमाडौँ महानगरपालिकाका प्रमुख बोलेन्द्र शाहलाई सम्मानका साथ भन्न चाहन्छु। उहाँ जननिर्वाचित हुनुभएको छ,’ उनले अघि भने, ‘उहाँले चुनाव जितेर आएपछि हामी पनि आशावादी भएका छौँ। उहाँले निर्वाचन जितेर आउने बित्तिकै तबला उपहार दिनुभएको थियो। तबला किन उपहार दिनुभयो, किन ड्रम बजाउने उपहार दिनुभएन। बोलेन्द्र शाहले संगीतको ड्रम बजाएर नै आउनु भएको थियो। तर अध्यक्षले सोच विचार गरेर तबला दिनुभयो। मेयरलाई तबलाको धुनमा काम गर्नुस्, तबलाको अर्थ हो। करुणा, प्रेम, सदभाव र सयंमता हो। तर काठमाडौँ महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ।’