कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न धनुषा अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत धनुषाले सिरोहियालाई तेस्रो पटक थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
न्यायाधीश यदुराज शर्माको इजलासले अध्यक्ष सिरोहियालाई लागेको नागरिकता कसुरसम्बन्धी आरोपको अनुसन्धान गर्न थप ३ दिनको समय दिएको हो । यसअघि न्यायाधीश रोमाकान्त ज्ञवाली र न्यायाधीश चुरामन खड्काको इजलासले तीन-तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यो तेस्रो पटक पनि तीन दिन म्याद थप गरिएको हो । यससँगै सिरोहिया कम्तीमा ९ दिन हिरासतमै रहने निश्चित भएको छ ।






















