राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताउनुभएको छ । शुक्रबारबाट सुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो ।
अध्यक्ष लिङ्देनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न नसक्ने बताउनुभयो । उहाँले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभइ आर्थिक हिसाबले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको उल्लेख गर्नुभयो ।
अध्यक्ष लिङ्देनले सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण छिमेक र विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बनेको बताउनुभयो । उहाँले सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलाका कारण बिग्रिने सम्बन्ध र देशले भोग्नुपर्ने क्षति सम्बन्धित दलहरुले मात्र नभइ सिंगो देशले व्यहोर्नुपर्ने भन्दै वैदेशिक सम्बन्ध कसैसँग नजिक र टाढाको नभइ समान हुनुपर्ने बताउनु भयो । वैदेशिक सम्बन्धमा दल र सत्ता नभइ केन्द्रमा देश हुनुपर्ने बताउनुभयो ।
केन्द्रिय कार्यसमितिको बैठकमा पार्टी अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गर्नुुभएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । उहाँले महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदनहरु पेश गर्नुभएको बताउनुभयो ।