कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै मंगलबार अपराह्न पक्राउ गरेको हो ।
दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो । यसैबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध जारी भएको पक्राउ पुर्जीविरूद्धको रिट सर्वोच्च अदालतले दर्ता गरेको छैन। जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी बदर गरी पाऊँ भन्दै दिएको रिट मंगलबार दर्ता नभएको हो। सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले मंगलबार दर्ता नभएको र बुधबार यसबारे थप अध्ययन गरिने बताए। सिरोहिया रिट लिएर अदालत गएका थिए ।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ । सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।